प्रधानमन्त्री दाहाल र कांग्रेस नेताबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल शुरु गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार जारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद अवरोध गर्दै आएको हो।
बिहीबार प्रतिनिधि सभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफललाई निरन्तरता दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले शुक्रबार पनि संसद भवनस्थित आफ्नो चेम्बरमा कांग्रेस प्रमुख सचेत लेखक, कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडा लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।