एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरू
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबारदेखि शुरु हुने भएको छ ।
ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद र समसामयिक परिस्थितिको छलफल गरिने भएको हो। बुधबारसम्म संचालन हुने बैठकमा महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्नुका साथै संगठन विस्तार र पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाको बारेमा छलफल गरिने एकीकृत समाजवादीले जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गर्ने भएको हो। विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न र केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने पार्टीले जनाएको छ ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको हो ।