महोत्तरीको मटिहानी आगलागी प्रभावित २०० सय बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित २ सय २१ जना बालबालिकालाई कापी, कलम, पोशाक, झोलासहित १५ वटा भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।
बालविकासदेखि कक्षा ५ सम्मका ७६ जना बालक, ८३ जना बालिका तथा कक्षा ६ देखि १२ सम्मका ३२ बालक र ३० बालिकासहित २ सय २१ जनालाई ३ लाख ७१ ह्जार ५ सय भन्दा बढीका शैक्षिक सामग्री वितरण गरिएका नगरप्रमुख हरि मण्डलले जानकारी दिनुभएको छ ।
उहाँले सहयोगका लागि सेभ द चिल्ड्रेन, क्लबलाई धन्यावाद दिंदै शैक्षिक सामग्रीहरूले तत्कालको अभाव पूर्तिभएका र जसले बालबालिकाको शैक्षिक गुणस्तरमा पनि टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको हो। कक्षा ४ मा अध्यनरत १२ वर्षीय बालिका लक्ष्मी नियाँले आगलागीपछि आफ्ना सबै शैक्षिक सामग्री जलेको अवस्थामा सहयोग पाएपछि धेरै राहत मिलेको बताइन् ।
नियाँले यस्तो भन्छिन्,-'आगलागीबाट सबै किताब कापी जलेका थिए । त्यसयता पढ्न पनि पाएको थिएन । आज किताब, कापी, कलम, ब्याग, पोसाक र झोला लगायतका सामान पाएपछि धेरै खुशी लागेको छ । अब निरन्तर विद्यालय गएर मन लगाएर पढ्ने छु ।'
गत वैशाख १२ गते नगरपालिकाको ६ जरलहवा गाछीमा आगलागी हुँदा १ सय भन्दा बढी घर जलेका थिए ।आगलागीबाट सोही परिवारका ५ सय ७० भन्दा बढी सदस्य प्रभावित भएका छन् । जसमध्ये २० वर्ष मुनिका ३ सय ७१ जना बालबालिकाहरू रहेका हुन् ।
जिल्ला विपद व्यवस्थापन समिति महोत्तरीको निर्णय अनुसार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा गत वैशाख १४ गते आगलागी प्रभावित १ सय ३ परिवारलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री, भान्सा घरमा प्रयोग हुने भाडाकुडाका र ५ वर्षमुनिका बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका मिडिया तथा सञ्चार संयोजक रचना श्रेष्ठले जानकारी दिनुभयो।