कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्दैछ ।
संसदीय दल कार्यसमितिको बैठक सोमबार बिहान साढे ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दलका नेताको कार्यकक्षमा बस्ने भएको हो । संसदीय दलको बैठक सोमबार बिहान ९ बजे बस्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको हो । तर सरकारले व्यक्तिको नाम किटान गरेर समिति बन्न नसक्ने अडान राखेपछि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको छ ।
आइतबार गृहमन्त्री लामिछानेले संसदमा बोलेपछि चित्त नबुझे कांग्रेसले बोल्न पाउनुपर्छ भन्ने सहमति सभामुख देवराज घिमिरेले उल्लंघन गरेको र कांग्रेसले यस विषयमा पनि संसदीय दलको बैठकमा छलफल गर्ने भएको हो ।त्यस्तै, प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा भएको गृहमन्त्री लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपको बारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर महामन्त्री गगन थापाले सोमबार बिहान ११ बजेसम्म सहकारी प्रकरणमा छानबिन समिति गठन नभए संसद बैठक चल्न नदिने बताउनुभएको थियो ।