जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनुभएको हो । जसपा नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत उहाँले लगाउनुभएको छ ।
सांसद यादवले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यहीं सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गर्नुभएको बताउनुभएको छ ।
सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको बिरुद्धमा आफूहरु लाग्ने उहाँले चेतावनी दिनुभयो । सांसद यादवले विभाजित भएर जाने नेताहरुले आफूहरुको आन्दोलनमा घाटा हुने बताउनुभएको छ ।