साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर संघीयतालाई थप सबल बनाउने: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा संघीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर संघीयतालाई थप सबल बनाउने बताउनुभएको छ ।
सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले यस वर्षदेखि बजेट सम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउन लागिएको बताउनुभएको हो ।
आफूले तेस्रो पटक सरकारको नेतृत्व गरे पश्चात सबै भन्दा बढी ध्यान संघीयता कार्यान्वयनमा लगाइरहेको उल्लेख गर्दै उहाँले सोही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भई महत्वपूर्ण निर्णयहरू भएको बताउनुभयो ।
सरकार भन्ने बित्तिकै नागरिकको मन मस्तिष्कमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू नै अग्रपंक्तिमा आउने उल्लेख गर्दै उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अंगको सोच्ने तरिकाले नै त्यहाँका सेवाप्रवाह थाहा हुने बताउनुभएको छ ।
दार्माको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रूकुम पश्चिमको चौरजहारी र जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रे गर्नका लागि सरकारको तर्फबाट आवश्यक पहल गर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले दुग्ध सहकारीहरू मार्फत दार्मालाई दूध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन संघीय सरकारको तर्फबाट सहयोग हुने समेत विश्वास दिलाउनुभएको छ।