कांग्रेसले विरोध गरेपछि संसदका दुवै सदनको बैठक आतबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ ।
राजनीतिक दलहरुबीच सहमति नबनेपछि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।
बिहीबार कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेर गृहमन्त्री लामिछानेलाई बोल्ने समय दिएपछि सदनमा मुठभेदको अवस्था उत्पन्न भएको थियो ।
त्यस्तै, कांग्रेसले राष्ट्रिय सभाको शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ । शुक्रबारको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन् । कांग्रेसका सांसदहरूले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरूले अस्वीकार गरेका थिए ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । कांग्रेसले अवरोध गरेपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो सवाँ १ बजेसम्मका लागि स्थगित गर्नुभयो ।