अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७० जना पुग्यो, हजारौं मानिस विस्थापित
एजेन्सी । मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी ७० जनाको मृत्यु भएको छ ।
अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै मानिसहरु बेपत्ता भएका हुन् । हजारौं मानिसहरु भने विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघका निकायहरूले पछिल्लो बाढीमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाएको हो । बाढीमा परी हजारौं गाईवस्तु मरेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पुर्याएको बीबीसले जनाएको छ ।
प्रान्तीय राजधानी फिरोजकोहमा करिब २ हजार पसलहरू पानीमुनि रहेको र त्यहाँ जाने अधिकांश सडकहरू क्षतिग्रस्त भएका हुन् । प्रान्तको प्रकोप व्यवस्थापन विभागले ‘आपतकालीन अवस्था’को घोषणा गर्दै आश्रय, खाना र पानीका लागि अपील गरेको छ। प्रान्तीय गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले दर्जनौं व्यक्ति बेपत्ता भएको बताएका हुन्।
यो हप्ता उत्तरी र मध्य क्षेत्रहरूमा व्यापक वर्षा भइरहेको छ । अघिल्लो हप्ता मात्रै अफ्गानिस्तानमा बाढीमा परी ३ सय भन्दा बढीको मृत्यु भएको थियो । लगातारको बाढीले खेतीयोग्य जमिन बाक्लो हिलोले ढाकिएको छ । ४ करोड जनसंख्या रहेको अफगानिस्तानमा ८० प्रतिशत मानिस कृषिमा निर्भर रहेका छन्।
अफगानिस्तानको मौसम विभागले देशका सबै प्रान्तहरूमा थप वर्षा र सम्भावित बाढीको चेतावनी दिएको हो। अफगानिस्तानमा गत वर्ष लामो खडेरी परेपछि भारी वर्षा भएको हो ।