प्रधानमन्त्री दाहाललाई कांग्रेसले भन्यो: 'जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो ?'
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।
प्रधानमन्त्री दाहालले सोमबार संसदमा विश्वासको मत माग्ने क्रममा कांग्रेसलाई मूल्य चर्को पर्ने चुनौती दिनुभएको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले दिएको चुनौतीको जवाफमा कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको बिर्सेको टिप्पणी गर्नुभयो ।
संसदमा भएको गतिविधि संसदीय मूल्य र मान्यता विपरित भएको बताउँदै आफूहरू यसको विरुद्ध लड्ने उहाँको भनाइ थियो । कांग्रेसलाई कुनै किसिमको चुनौती दिने काम बन्द गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिंदै प्रमुख सचेतक लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको दावी गर्नुभएको छ ।