सरकारले ३ वर्षदेखि रोकिएको 'सोभरेन क्रेडिट रेटिङ’ प्रक्रिया अघि बढायो
काठमाडौं । सरकारले ३ वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्यांकंन (सोभरेन क्रेडिट रेटिङ) प्रक्रिया अघि बढाएको छ ।
मुलुकको वित्तीय अवस्था तथा शाख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । त्यस्तै, मुलुकको लगानी जोखिमको अवस्थाको बारेमा यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वशर्तका रूपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका हुन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन ।
वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो । सरकारले सार्वभौम क्रेडिट रेटिङका लागि सार्वजनिक सूचना जारी गरी कम्पनीहरुलाई आमन्त्रण गरेको हो। रेटिङ सम्बन्धी विश्वका ३ प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पूअर्सले आवेदन दिएका थिए ।
जसमध्ये सरकारले फिच रेटिङ एजेन्सीसँग क्रेडिट रेटिङसम्बन्धी सम्झौता गरेको थियो । जसका लागि तत्कालीन बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) र हालको यूके एडसँग प्राविधिक सहयोग सम्बन्धी छुट्टै सम्झौता पनि गरिएको छ । सोही प्रक्रियाका लागि सरकारले स्ट्याण्डर्ड चाडर्ट बैंकलाई रेटिङ सल्लाहकार तोकेको हो।
कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र क्रेडिट रेटिङ गर्दा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने भन्दै यो प्रक्रिया विगत ३ वर्षयता रोकिएको थियो । अर्थमन्त्री वर्षमान पुनले सोभरेन क्रेडिट रेटिङको प्रक्रिया फेरि अघि बढाउनुभएको छ । ३ वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताले सोभरेन क्रेडिट रेटिङका लागि ढिला नगर्न सुझाएका थिए ।
तेस्रो लगानी सम्मेलन पूर्वसन्ध्यामा सरकारले रोकिएको क्रेडिट रेटिङ प्रक्रिया अघि बढाएको हो । जसका लागि अर्थ मन्त्रालयले शुक्रबार राजधानीमा सरोकारवालासँग ‘सार्वभौम क्रेडिट रेटिङ’ क्षमता विकास कार्यशाला नै आयोजना गरेको थियो ।