दिवंगत बुबा सुवासले देखाएको मार्गमा अगाडि बढ्छु: नवनिर्वाचित सांसद सुहाङ
काठमाडौं । इलाम-२ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताउनुभएको हो । नवनिर्वाचित सांसद नेम्वाङले आफ्ना दिवंगत बुबा सुवासचन्द्र निम्वाङले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आममतदाताको एक-एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताउनुभएको छ । सोही अवसरमा उहाँले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो,-‘म एकदमै हर्षित पनि छु । अलि-अलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । यसमा म तपाईहरु समक्ष उभिदाखेरी म के बाँचा गर्न चाहन्छु । धेरै बोल्न चाहन्न । म के बाचा गर्न चाहन्छु भने तपाईहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मत, सुरक्षित राख्नुभएको एक एक मतको मूल्यांकन हुने गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यहीं बाटो र उज्यालोलाई समाएर प्रतिवद्ध हिसाबले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु । तपाईहरुलाई कहिल्यै पनि संकोच हुन नदिने छैन । तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’
नवनिर्वाचित सांसद नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधनपछि रिक्त रहेको पदका लागि इला- २ एमालेले उहाँका कान्छा सुपुत्र सुहाङलाई उम्मदवार बनाएको थियो।