इलाम-२ को उपनिर्वाचनका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना दिवंगत पिता सुवास नेम्वाङले देखाएको बाटोमा अघि बढ्नु पर्ने बताउनुभएको छ ।
काठमाडौं । इलाम-२ को उपनिर्वाचनका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना दिवंगत पिता सुवास नेम्वाङले देखाएको बाटोमा अघि बढ्नु पर्ने बताउनुभएको छ ।
इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाएको बाटोबाट विचलित नहुने बताउनुभएको हो । उहाँले दिवंगत पिता सुवासले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
इलाममा उहाँले आफू नेकपा माओवादी केन्द्र, नेकपा र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी गठबन्धन मात्रै नभएर कम्युनिष्ट पार्टीको एकताको शुरुवात भएको बताउनुभएको हो । युवा र अनुभवी नेताको योगबाट मात्रै समृद्ध नेपाल बनाउन सकिनेमा उहाँले जोड दिनुभएको छ ।
नेपाली समाज इन्द्रेणी जस्तै रंगिन भएको बताउँदै एमालेका उम्मेदवार सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उच्छृंखल भएर प्रस्तुत नहुन आग्रह गर्नुभयो । सुख-दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उहाँले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन आग्रह गर्नुभएको हो ।
उहाँले त्यस्ता भ्रममा नपर्न अनुरोध समेत गर्नुभयो । अब एकले-अर्कालाई गाली गरेर होइन हाँसेर जनताका माझ जानुपर्ने उहाँको भनाइ थियो । इलामले विकासमा फड्को मारेको बताउँदै उहाँले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
बाँकी काम पूरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।