बझाङ-१ मा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, आज मतगणना नहुने
काठमाडौं । बझाङ-१ को प्रदेश सभाको उपनिर्वाचन शनिबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
सोही प्रदेश सभाको मतगणना भने शनिबार नहुने भएको हो । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको हो । दुर्गम स्थानमा रहेका करिब ३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभएको छ ।
अधिकृत लामिछानेका अनुसार शनिबार सम्पन्न भएको उपनिर्वाचनमा करिब ५० प्रतिशत मत खसेको हो । साइपाल गाउँपालिका लगायत विकट स्थानमा फोन सम्पर्क हुन नसकेकाले एकिन तथ्यांक संकलन नभइसकेको उहाँले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,- 'भौगोलिक विकटताका कारण शनिबार नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएला जस्तो छ । शनिबार नै मत गणना हुँदैन, ‘साइपाल गाउँपालिकामा रहेका पाँच मतदान केन्द्रमध्ये ३ वटा केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने हुन्छ । त्यसकारण शनिबार नै सबै मतपेटिका जम्मा गरेर मतगणना गरिहाल्ने अवस्था सम्भव छैन ।’
अधिकृत लामिछानेका अनुसार साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ । मौसमले साथ दिए धूली र काडाँको मतपेटिका शनिबार नै सदरमुकाम चैनपुर ल्याउने प्रयास भइरहेको हो । तर मौसम बदली भइरहेकाले एराङकुरीडाँडाको मतपेटिका ल्याउन नसकिने स्थिति रहेको उहाँको भनाइ छ ।
नेपाली सेनाको हेलिकोप्टर बझाङको सदरमुकाम पुगे पनि मौसम खराब भएकाले ३ वटा मतदान केन्द्रको मत सदरमुकाम ल्याउन समस्या भएको उहाँले बताउनुभयो ।