बझाङ प्रदेश सभा-१ बाट एमालेका दमन भण्डारी विजयी
काठमाडौं । बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई उहाँले २ सय ६६ मतले पराजित गर्दै बझाङ-१ को प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । शनिबार सम्पन्न भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सोमबार सार्वजनिक हुँदा भण्डारीले सुदूरपश्चिम प्रदेश सभाको टिकट पक्का गर्नुभएको हो ।
विजयी हुनुभएका भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्न सफल हुनुभएको छ । उहाँसँग पराजित हुनुभएका कांग्रेका उम्मेदवार सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्दै पराजित हुनुभएको हो । त्यस्तै, नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
उता नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको हो । बझाङ-१ बाट निर्वाचित कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएएको थियो । उहाँको निधनपछि भएको उपनिर्वाचनमा कांग्रेसले उहाँकै छोरा अभिषेक सिंहलाई टिकट दिएको थियो ।
तर प्रतिस्पर्धात्मक चुनावमा अभिषेकले बुबाको विरासत जोगाउन सक्नुभएन। बझाङमा सबै दल एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका थिए ।यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका र स्वतन्त्र उम्मेवार भने उठेका थिएनन् ।