जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले शनिबार राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा टुंगो लगाउन कार्यदलले पेश गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जनसहित पारित गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिनुभएको हो ।
विभिन्न तहगत समिति, निकाय, भातृ संगठन, पेशागत संघ-संगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने उहाँले बताउनुभएको छ । त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट २ सय सदस्य बराबर एक प्रतिनिधि हुने गरी निर्देशिका पारित गरिएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।
जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुल्ला प्रतिष्पर्धाबाट र ३० प्रतिशत समावेशी प्रतिष्पर्धाबाट चयन गर्ने उहाँले बताउनुभएको छ । जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा हुने भएको हो ।