राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने बताउनुभएको छ ।
गोरखा भूकम्पको नवौं स्मृति दिवसका अवसरमा बुधबार एक सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभएको छ। भूकम्प एक प्राकृतिक विपद भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको उहाँको भनाइ थियो । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिने जारी सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको उल्लेख गर्नुभएको हो । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै उहाँले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरूरी रहेको बताउनुभयो ।
भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई उहाँले ध्यानाकर्षण गराउनुभएको हो । प्राकृतिक विपद सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी तथा जोखिमको चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएकाहरू प्रति राष्ट्रपति पौडेलले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
त्यस्तै, उहाँले भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।