इलाम-२ मा रास्वपाका उम्मेदवार लिम्बुले गरे आचारसंहिता उल्लंघन, अटेरी गरेको पनि हुनसक्छ-कारबाही हुन्छ: आयोग
काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले आचारसंहिताको उल्लंघन गर्नुभएको छ ।
उहाँले निर्वाचन चिन्ह अंकित घण्टीको लोगो भएको ब्याच लगाएर शनिबार मतदान गरेको फोटो सार्वजनिक भएको हो । लगतै केन्द्रीय निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा खबर गरेको थियो । त्यसपछि लिम्बुले मतदान गरेको स्थान माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा सोधपुछ भएको हो ।
त्यसपछि लिम्बुलाई तत्काल स्पष्टीकरण सोधेर उहाँले लगाएको ब्याच फुकाल्न लगाइएको आयोगले जनाएको छ । तर लिम्बले मतदान गरेको करिब १ घण्टापछि मात्र उक्त कार्य गरिएको हो । निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट रुपमा लेखिएको छ ।
निर्वाचन आयोगका अयुक्त दिनेश थपलियाले जिल्ला निर्वाचन कार्यालयलाई सो विषयको बारेमा अवगत गराइसकेको बताउनुभयो । मतदान गर्न जाँदा चिन्ह अंकित कुनै पनि सामग्री प्रयोग गर्न नपाउने स्पष्ट कानून हुँदाहुँदै पनि जानी या नजानी यस्तो हुनु आश्चर्यजनक भएको उहाँले प्रतिक्रिया दिनुभएको छ ।
उहाँले भन्नुभयो,-'उम्मेदवार आफैं शिक्षित हुनुपर्ने हो । मतदान स्थलमा पुगेपछि कसैले जानकारी पनि नगराउनु चाहीं रहस्यमय छ । जसको बारेमा हामीले अवगत गराएका छौं । कसै न कसैलाई त थाहा हुनुपर्ने हो । अटेरी गरेको पनि हुनसक्छ । कानूनअनुसार कारबाही हुन्छ ।’