बझाङ-१ को प्रदेशसभा सदस्य चयनका लागि जारी उपनिर्वाचनमा ४० प्रतिशत मतदान
काठमाडौं । बझाङ-१ को प्रदेशसभा सदस्यको चयनका लागि भइरहेको उपनिर्वाचनमा हाल ४० प्रतिशत मतदान भएको छ ।
भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ । शनिबार दिउँसो साढे २ बजेसम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ८४ जना मतदाता रहेका छन् । यहाँ ३१ हजार ५ सय १९ पुरुष र ३१ हजार १ सय ९९ जना महिला मतदाता रहेका हुन् । ७४ वटा मतदान केन्द्र र ९३ वटा मतदान स्थल रहेको निर्वाचन कार्यालयले जनाएको हो ।
बझाङको साइपल गाँउपालिकाका ३ वटा मतदानस्थल विकट ठाउँमा भएकाले त्यहाँको मत कम खस्ने आंकलन गरिएको छ । २०७९ सालको निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यस पटक ५५ प्रतिशत कट्ने कार्यालयले अंकलन गरेको हो ।