प्रतिनिधिसभाको शिक्षा समिति सभापतिमा नेकपा एसका थापा निर्विरोध निर्वाचित
दृष्टि सञ्चार संवाददाता । प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेको थियो ।
उनको उम्मेदवारीमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहेको र अन्य कुनै पनि उम्मेदवारी नपरेकोले निर्विरोध निर्वाचित भएको समितिकी सचिव निर्मलादेवी लामिछानेले रातोपाटीलाई जानकारी दिइन् ।
समिति सभापति थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् । यसअघि सो समितिमा नेकपा एसकै तर्फबाट भानुभक्त जोशी सभापति रहेका थिए । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि रिक्त रहेको सभापति पदमा फेरी नेकपा एसकै सांसद थापाले अवसर पाएका छन् ।
सभापतिमा निर्वाचित भएका थापाले शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कसरी सुधार ल्याउन सकिन्छ भन्ने कुरामा लागिपर्ने बताए । उनले आफू जुन क्षेत्रमा काम गर्ने हो त्यो क्षेत्रमा टाउको टेकेर काम गर्ने बताउँदै शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउन लागिपर्ने बताए ।
यस्तै त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नका के गर्न सकिन्छ, शिक्षामा उपलब्धिमूलक काम गरेर मात्रै आफू बिदा हुने उल्लेख गरे ।