मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास
मधेस प्रदेशमा मिटरब्याज पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको खबर बाहिरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८ मा रामनारायण सिंह सहितकाले संजयकुमार कामतीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरेको खबर बाहिरिएको हो ।
मिटरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा जान खोज्ने क्रममा घरजग्गा किनेका सोही स्थानका रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंहले कामती माथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् ।
कामतीले २०७३ सालमा कल्याणपुर ८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराएका छन् ।