सिएमआर नेपालको अध्यक्षमा दीपक अर्याल चयन
सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालको अध्यक्षमा दीपक अर्याल चयन भएका छन् । सिएमआर नेपालको ११ औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अर्याल पत्रकारिता प्राध्यापन गर्नुकासाथै मिडिया, इतिहास र समाजशास्त्र सम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका छन् ।
सिएमआर नेपालको उपाध्यक्षमा श्रुति श्रेष्ठ, सचिवमा नविन खतिवडा, कोषाध्यक्षमा हिमेशरत्न बज्राचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता कार्की, कञ्चन अधिकारी र अनिता शाह चयन भएका छन् । सो साधारणसभामा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले अझै पनि पत्रकारितालाई सही ढंङगले बुझ्न नसकेको भन्दै विषयगत र प्रविधिक रुपले दक्ष जनशक्ति तयार पार्नका लागि काउन्सिल विश्वविद्यलाय र अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले मिडियाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुनु सह्रानिय कार्य भएको उल्लेख गर्दै मिडिया साक्षरतालाई अघि बढाउन सुझाव दिए । महासंघका सचिव पवन आचार्यले पत्रकारहरुका लागि विशिष्टकृत तालिमको आवश्यकता रहेको बताउँदै समय सापेक्ष तालिमहरु अघि बढाउनु पर्नेमा जोड दिए ।
नेपाल खुल्ला विश्विद्यालयका सहप्राध्यापक डा।हरि ढुङ्गानाले वर्तमान समयमा पत्रकारिता क्षेत्रमा धेरै चुनौती देखा परेको उल्लेख गर्दै नयाँ प्रविधिलाई विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । सिएमआर नेपालका नवनिर्वाचित अध्यक्ष दीपक अर्यालले विगतमा गरेका कार्यहरुलाई निरन्तरता दिँदै आगामी दिनमा सेन्टरले मिडियाका नीतिगत, व्यवहारिक र नयाँ नयाँ प्रविधिले गर्दा आएका विविध मुद्दामा अध्ययन अनुसन्धान गर्नुका साथै मिडिया सम्बन्धी बहसलाई अघि बढाउने बताए ।सिएमआर नेपालका निर्तमान अध्यक्ष तृष्णा आचार्यले स्थापना भएदेखि सिएमआर नेपालले प्रगति गर्दै आएको धारणा व्यक्त गर्दै आफ्नो नेतृत्वको कार्यकाल सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिइन । साथै सो अवसरमा सिएमआर नेपालको सामाजिक लेखा परीक्षण पनि गरिएको थियो ।