अमेरिकामा नेपालीसमेतले यसरी मनाए हालोविन पर्व
प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व–२०२३ हर्षोल्लासका साथ नेपाली समुदायले पनि मनाएका छन् ।
अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण यो पर्व मनाउने क्रम जारी रहेको छ । हालै महान् चाड बडा दसैँ मनाएका नेपाली समुदायले नजिकै आउँदै गरेको तिहार अगाडि हालोविन पर्वलाई स्वागत गर्दै अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा छोराछोरीको साथमा हालोविन पर्व मनाएका छन् ।
आफ्नो चाड पर्व साथै अमेरिकामा मनाइने इसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस)सहित हालोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउन सुरु गरेका हुन् ।
नेपालीहरूले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरूले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन पर्व मनाउने गर्छन् । यसरी विदेशीहरूले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउँमा हालोविन पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
विभिन्न भूतप्रेतको आकृतिमा विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा चकलेट माग्ने र घरधनीले विभिन्न प्रकारका चकलेट बाँडेर यो पर्व मनाइन्छ । हालोविन खेल्न आउनेलाई पैसा या दक्षिणा दिनु पर्दैन ।
बालबालिका तथा किशोर किशोरीले चकलेट मात्र माग्ने गर्छन् । यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि साथमा जाने चलन छ ।