कोशीमा बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला, अध्यादेश पारित
अहिलेसम्म अध्यादेशबाट बजेट धानिरहेको कोशी प्रदेश सरकारलाई अब प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने बाटो खुला भएको छ।
सोमबारको प्रदेशसभा बैठकले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ। बजेट अध्यादेश पारित भएपछि अब प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको र तिहार लगत्तै प्रतिस्थापन विधेयक ल्याइने गठबन्धनका नेताहरुले बताएका छन्।
‘प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गर्न यो अध्यादेश पारित गर्नुपर्थ्यो’, माओवादी नेता इन्द्र आङ्बोले भने, ‘अब मंसिर १६ भन्दा अघि नै प्रतिस्थापन विधेयक आउनेछ।’
यसअघि प्रदेशमा एक पटक बजेट शून्यताको अवस्थासमेत आएको थियो।
प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो।