मधेसमा राजश्वको लगातार छापा, यस्तो छ तस्करको रुट र जालो
यही असोज १३ गते राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहाबाट झण्डै ५० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गर्यो । विशेष टोलीले सिरहास्थित माडर भन्सार कार्यालय नजिकै रहेको सिरहा नगरपालिका–१५ को सीमावर्ती बुधौरा गाउँस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसरमा रहेको बगैँचाबाट लुकाएर राखेको लत्ताकपडा बरामद गरेको थियो ।
त्यसको भोलिपल्टै असोज १४ गते राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा लियो । अनुसन्धान टोलीले आइतबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको भन्सार छली गरिएको लत्ताकपडासहित अन्य सामान बोकेको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
राजस्वको टोलीले तेश्रो दिनसमेत छापा हानी अवैध कपडा बरामद गर्यो । असोज १५ गते सोमबार सिरहा नगरपालिका–१५ सुखचैनाबाट अवैध कपडा बरामद गर्यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा बरामद गरिएको थियो ।
लगत्तै असोज १६ गते मंगलबार विहान सशस्त्र प्रहरी बल सिरहाले पनि सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गर्यो ।
उक्त कपडा बरामद भएको स्थान भारतीय सीमाबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नम्बर–७ बाट ४ किलोमिटरको मात्र दूरीमा छ ।
यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो । त्यहाँबाट समेत अवैध लत्ताकपडा बरामद भयो ।
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा यसै साता बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।
राजस्व अनुसन्धान कार्यालयले मोरङ्ग र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यस क्षेत्रका तस्करहरु मधेस प्रदेशको सप्तरी, सिरहा र धनुषाका नाकाहरु प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए ।
सुनसरी, मोरङ्गमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले तस्करहरु पश्चिमतर्फ सर्दै आएको देखिएको छ,’ प्रमुख आचार्यले भने ।
‘कडाइ गरिएपछि अहिले तस्करहरुम्को भागाभाग छ,’ उनले भने, ‘हामीलाई प्राप्त जानकारी अनुसार अहिले उनीहरु पक्राउ पर्ने डरले अहिले भारततिर भागेको खबर छ । अनुसन्धान जारी छ, वारेन्ट जारी गरेर उनीहरुलाई पक्राउ गरिनेछ ।’
उनले सिरहामा भईरहेको संस्थागत तस्करीलाई नियन्त्रणमा लिएको बताए ।
यता प्रहरी प्रशासनकै मिलोमतोमा सिरहामा ठूलो परिमाणमा निर्वाध रुपमा तस्करी भईरहको देखिएको छ ।
आन्तरिक राजश्व कार्यालयले सिरहामा निरन्तर ठूलो परिमाणमा लत्ताकपडा बरामद गर्नुले प्रहरी, प्रशासन र भन्सारकै कर्मचारीको मिलोमतोमा व्यापक तस्करी भइरहेको देखिएको हो ।
सिरहासँग सीमा जोडिएको भारतको जयनगर, लदनिया लगायतको बजारबाट सिरहाका विभिन्न नाका भएर अवैध रूपमा तस्करी भइरहेको गुनासो बढेपछि माथिल्लो निकायले नै सक्रियता बढाएको छ । यसले अबैध समान पक्राउमा सफलता मिलेको छ ।
भन्सार कर्मचारी, स्थानीय स्तरदेखि जिल्लाका प्रहरी अधिकृतसँग महिनावारी रकम बुझाउने सर्तमा केही महिना यता तस्करी फस्टाएको छ । सिरहाको करिब ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट राखी प्रहरी परिचालित छन् । तर, तस्करीको ग्राफ बढेको तथ्यहरुले देखाएको छ ।
पछिल्लो एक सातामा राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिरहाका प्रहरी अधिकारीहरु दबाब खेप्न नसकेर आफ्नो बचाउका लागि भएपनि केही सामान पक्राउ गरिरहेको स्रोतको दाबी छ ।