जनकपुरधाममा दसैँको विशेष रौनक, बेहुलीझैँ सिँगारिए शक्तिपिठहरु
जनकपुरधाममा दसैँको विशेष रौनक छाएको छ । दसैँ सुरु भए लगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ । शक्तिपीठहरुमा फूलैफूलको स्वागत द्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरूले सौन्दर्यलाई झनै भव्य बनाएको छ ।
यहाँका प्रमुख शक्तिपीठ र मन्दिरहरूलाई बेहुलीझैँ सिँगारिएपछि चहलपहल ह्वातै बढेको छ । राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा सबैभन्दा बढी आकर्षक सजावट गरिएको छ भने बौद्धिमाइ, अमरखाना माइ, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरु पनि झकिझकाउ बनाइएका छन् ।
साँझ पर्ने बित्तिकै दसैँको पहिलो दिनदेखि नै सबै मन्दिरहरूमा पूजापाठ गर्ने दीप प्रज्वलन गर्ने महिलाहरूको भीड लागेको छ । युवा क्लबहरूले लाखौँ खर्चिएर मन्दिरलाई झकिझकाउ पारेकाले पूजापाठ गर्नेभन्दा घुम्न आउनेहरूको सङ्ख्या अधिक देखिन्छ ।
जनकपुरधामस्थित रहेको राजदेवी मन्दिरमा दसैँमा विशेष मेला लाग्छ । यहाँ मधेसमै सबभन्दा बढी बोकाको बलि पनि चढ्ने गरेको छ । दसैँ मेला भर्न यहाँ गाउँ गाउँबाट मानिसहरू उर्लिने गर्छन् ।