माओवादी अभियान : एजेण्डा स्थापित गर्दै विरासत फर्काउन कति सम्भव ?
नेकपा माओवादी केन्द्र आफ्नो रुपान्तरण अभियानमा छ । भदौ १६ गतेदेखि माओवादी केन्द्रले देशव्यापी रुपमा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ थालेको हो । भदौ १६ मा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यालयबाट ७ प्रदेशका ६ हजार ७४३ वडामा एक साथ अभियान उद्घाटन गरेका थिए ।
३ महिनासम्म नागरिकहरुसँग जोडिएर काम गर्नेगरी माओवादी केन्द्रले आफ्ना नेता तथा कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ । नागरिकहरुसँग साक्षात्कार गर्ने गरी माओवादी केन्द्रले देशको ४ हजार ७४३ वडामा केन्द्रीय तहका नेतालाई पठाएको हो ।
केन्द्रीय पदाधिकारीदेखि स्थानीय कार्यकर्तासम्मलाई वडा तहमा परिचालन गरेर पार्टी र जनताबिचको सम्बन्ध सुदृढ गर्ने माओवादी केन्द्रको लक्ष्य छ । अभियान अन्तर्गत पार्टीका शीर्ष नेतृत्व, सरकारमा प्रतिनिधित्व गर्ने व्यक्ति र विभिन्न राजनीतिक नियुक्ति लिएका व्यक्तिहरु नागरिकहरुसँग टाढिएको सम्बन्ध सुधार गर्दै जनताको घरदैलोमा पुग्नेछन् ।
२०७० को निर्वाचनपछि खस्किएको पार्टीको अवस्थालाई अभियान मार्फत् सुधार गर्ने माओवादी केन्द्रको उद्देश्य छ । त्यसैले माओवादी केन्द्रले अभियान अन्तर्गत आफ्ना सबै नेतालाई गाउँ–गाउँमा केन्द्रित गरेको हो ।
अभियान अन्तर्गत माओवादी केन्द्रले वडाहरुमा खटाएका प्रतिनिधिहरुले संगठन सुधार तथा विस्तारदेखि समस्या समाधान तथा विभिन्न विषयहरुमा बहस र अन्तरक्रियासँगै सरसफाइ तथा सडक मर्मतका कार्यक्रममा जनश्रमदान गर्नेछन् ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नाराका साथ माओवादी केन्द्रले सुरुवात गरेको ३ महिने अभियानमा केन्द्रीय सदस्यहरुलाई वडा तहसम्म पठाएर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र पार्टी संगठनमा युवापुस्ताको आकर्षण बढाउने लक्ष्य रहेको नेताहरु बताउँछन् । अभियान अन्तर्गत सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरुको जानकारी गराउने उनीहरुको भनाइ छ ।
३ चरणमा सञ्चालन हुने उक्त अभियानको पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, संगठन विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गरिने छ भने दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुलिङ, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गर्नेछ ।
तेस्रो चरणमा भने जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम गर्ने तयारी छ ।