झलनाथलाई माधव नेपालको जवाफ : ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इङ्गित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरूको कार्यविभाजन गरेका थिए। अध्यक्ष नेपालले गरेको कार्य विभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरूले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।
सोही प्रसङ्गलाई लिएर उनले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताएका हुन् । उनले अनुशासनको ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताए । नेपालले पार्टीको हित नचाहनेहरू फरक किसिमले चल्ने बताए । उनले नमिलेका कुरालाई मिलाएर लैजान सकिने समेत बताए ।
उनले भने, ‘पार्टीभित्र अनेकौँ समस्याहरू हुन्छन्, ती समस्याहरू पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन । केही समस्याहरू छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढङ्गले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् । पार्टीको हित चाहने एक ढङ्गले र अहित चाहने अर्को ढङ्गले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ ।’
अर्को प्रसङ्गमा अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढङ्गले उनीहरूका माग सम्बोधन गर्नुपर्ने समेत बताए ।