माओवादी कमजोर हुनुमा नेतृत्वको कि नेताको कमजोरी ?
माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल जारी छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बुधबारदेखि सुरू भएको बैठकमा उनले केन्द्रीय सदस्यहरू अवसरवादी भएको, तोकिएको क्षेत्रमा गएर जिम्मेवारी पूरा नगरेको, सरकारले गरेका राम्रा कामको जनतामाझ प्रचार नगरेकोमा तीव्र असन्तुष्टि जनाएका थिए ।
‘केन्द्रीय सदस्यहरू मात्रै ३८५ जना छन् । एक सय ९८ जना वैकल्पिक सदस्य छन् । केन्द्रीय विभाग, जनवर्गीय संगठन, प्रदेश समिति, जिल्ला, पालिका र टोलसम्म कमिटी गठन भएका छन् । पार्टी सदस्यहरू साढे सात लाखभन्दा बढी छन् । निर्वाचनमा पार्टीले जितेको सिट संख्या जम्मा १८ छ । सदस्यहरूका आफन्तले पनि माओवादीलाई भोट हालेनन् कि भन्ने मलाई शंका छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले बताए ।
संघदेखि वडासम्म पार्टी नेतृत्वले मात्रै जिम्मेवारी लिने हो भने पार्टी विघटन गर्ने चेतावनी प्रचण्डले दिएका थिए । आठौँ महाधिवेशनले केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय गरे पनि विभिन्न पार्टीबाट आएका नेताहरूको व्यवस्थापन गर्नुपर्ने बाध्यताले समितिको आकार ठूलो भएको उनले बताएका थिए । विगतमा आफूबाट पनि केही गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो गल्ती नहुने प्रतिवद्धतासमेत उनले जनाएका थिए ।
माओवादी रूपान्तरणका लागि भदौदेखि तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने, मंसिरमा विधान सम्मेलन गरी केन्द्रीय समितिको आकार घटाउने, केन्द्रीय समितिको बैठकले सबै नेताहरूको जिम्मेवारी तोक्ने र यस वर्षको अन्त्यमा विशेष महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ । उनले प्रतिवेदन पेस गरेपछि ओम शर्मा, हिमाल शर्मा, सुरेन्द्र कार्की, लक्ष्मण पन्त, रामकुमारी चौधरी, पुष्पविक्रम मल्ल, कृष्ण केसी लगायत १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
बैठकमा नेतृत्व आफैँ रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण हुन नसक्ने भन्दै उनीहरूले प्रचण्डको कडा आलोचना गरेका थिए । उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार नवसामन्तहरूको कब्जामा रहेको, नेतृत्व परिवारवादमा फसेको, नेताहरूको कार्यशैली पारदर्शी नभएको जस्ता गम्भीर आरोप लगाएका थिए ।
अध्यक्ष प्रचण्डले मौखिक रूपमा कर्मकाण्डी ढङ्गले प्रतिवेदन प्रस्तुत गरेर सिङ्गो केन्द्रीय समितिलाई अपमान गरेको भन्दै सदस्यहरुले असन्तुष्टि पोखेका थिए ।