राणाकालमा सुरू भएर पञ्चायतमा विद्रोहीलाई सघाएको १०८ वर्ष पुरानो पुस्तकालय
मधेश प्रदेशको सिरहा जिल्ला सदरमुकाम सिरहामा १०८ वर्ष पुरानो एएटा पुस्तकालय छ। यो पुस्तकालय राणाकालमा सुरू भएर पञ्चायतकालमा लोकतन्त्रवादी नेताहरूका लागि सहयोगी बनेको थियो।
राणाकालमा व्यापार–व्यवसाय, उब्जाउ जमिनको उपलब्धता, सरकारी जागिर, पहाडबाट हुने बसाइँ-सराइ गर्दै कतिपय मानिस मधेस झरे। नजिकका पहाडी जिल्लाहरूलगायत काठमाडौंबाट केही शिक्षित व्यक्तिहरू सिरहा पुगेका थिए। ती व्यक्तिहरूले छोराछोरी पढाउन स्कुल खोल्न पहल गरे। लेखक तथा विश्लेषक रामरिझन यादवका अनुसार तत्कालीन सिरहा भन्सार कार्यालयका खरिदार कृष्णप्रसाद कोइराला लगायतले पहल गरे। तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर राणाका नजिकका व्यक्तिसँग समन्वय गरेपछि स्कुल खोल्न अनुमति पाए।
यसरी १९७१ सालमा सिरहामा चन्द्र मिडिल स्कुल स्थापना भयो। स्कुल स्थापनापछि शिक्षित युवाहरूको एक समूहले यहाँ पुस्तकालय स्थापना गर्न पहल गर्यो। हरिगोविन्द जोशी, ठकन मल्लिक लगायतका बौद्धिक व्यक्ति पुस्तकालयका स्थापनाको अभियानमा लागे। उनीहरूले पुस्तकालय स्थापना गर्न आर्थिक सहयोगका लागि घरघरमा गएर ‘मुठी दान’ गर्न आग्रह गरे। त्यहाँका बासिन्दाहरूले चामल, गहुँ लगायतका दान गरे। अभियानीहरूले त्यो अन्न बेचेर किताब किने। पढ्न भनेर भारतको वनारसतिर गएकाहरूले पनि किताब ल्याए, उताबाट पठाए।
यसरी एउटा पुस्तकालय स्थापना भयो।
पूर्वशिक्षक अनिरुद्र ठाकुरका अनुसार चन्द्र मिडिल स्कुल स्थापना भएको अर्को वर्ष पुस्तकालय स्थापना भयो। सुरूमा सबै किताब त्यही स्कुलमा राखेर पुस्तकालय चलाइयो। केही वर्षपछि सबै किताब स्कुलबाट सिरहाको महावीरचोकस्थित एउटा घरमा सारियो। फेरि केही वर्षपछि दाताहरूको सहयोगमा २०१२ सालमा पुस्तकालयले आफ्नै घर पायो।
ठाकुरले भने, ‘त्यो बेला भारतको दरभंगाबाट छड, इटा र अरू सामान ल्याएर रसियन मोडेलको घर बनाइयो। त्यही घरमा विधिवतरूपमा पुस्तकालय राखियो।’
पुस्तकालय १९७२ सालमै सुरू भएको भए पनि आफ्नै भवन बनेपछि ‘सिरहा पुस्तकालय’ नाम राखेर विधिवतरूपमा २०१२ मा स्थापना भएको मानियो।
‘मधेशप्रति त्यतिबेलाको सरकारको बक्र दृष्टि थियो। पुस्तकालयमा प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू पनि थिए। राजा निकटका केही मान्छेहरू देशभर शिक्षाको ज्योति फैलियोस् भन्ने चाहन्थे,’ ठाकुरले भने, ‘शिक्षाप्रेमी केही व्यक्तिहरूको सक्रियताले चन्द्र मिडिल स्कुल र पुस्तकालय बनेका हुन्।’
ठाकुरका अनुसार पुस्तकालयले ‘ज्ञान रश्मि’ नामको पत्रिका प्रकाशन गर्थ्यो। राजा महेन्द्रले त्यो पत्रिकामा शुभकामना दिने गरेका थिए। कवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुंगा’ शीर्षकको कविताको पहिलो सार्वजनिक वाचन सिरहा पुस्तकालयमै गरेका थिए।
पञ्चायती शासकहरू भने पुस्तकालयप्रति सकारात्मक हुन सकेनन्। जहाँनिया राणाशासन विरुद्धको आन्दोलन, प्रजातन्त्रका लागि भएको आन्दोलन, पञ्चायत व्यवस्था विरोधी आन्दोलन लगायतका समयमा धेरै नेताहरू सिरहा पुस्तकालयबाट किताब लगेर पढ्थे। पुस्तकालयका पूर्वअध्यक्ष अरूणकुमार पसावानका अनुसार पुस्तकालय स्थापनाका बखत अंग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएका कम्युनिस्ट दर्शनका किताब धेरै थिए। यीमध्ये धेरैजसो किताब रसियाली थिए। राजनीतिक इतिहासका र साहित्यका किताबहरू थिए।
किताब पढ्न त्यति बेलाका सरकारी मान्छे र कर्मचारीहरू पनि आउँथे। पञ्चायतकालमा बहुदलवादीहरूको आउजाउ बाक्लो भयो। यस्तो आउजाउ तत्कालीन राज्यप्रशानलाई पाच्य भएन। एकाएक पुस्तकालय लुटियो।
‘पञ्चातकालमा बहुदलवादी नेताहरू धेरै आउँथे। लोकतान्त्रिक आन्दोलन कमजोर पार्न राज्यकै निर्देशनमा धेरै किताबहरू लुटिए। त्यसपछि पुस्तकालय शिथिल हुन पुग्यो,’ पासवानले भने।
पुस्तकालय भवन पनि जीर्ण हुँदै गयो। छत चुहिन थाल्यो। धेरै किताब पानीमा भिजेर काम नलाग्ने भए। पुस्तकालय नाममात्रको भयो।
२०७० सालमा फेरि केही युवाहरू जागृत भएर पुस्तकालय संरक्षण गरी चलायमान बनाउन अघि सरे। युवाहरूकै पहलमा २०७१ सालमा पुस्तकालयको नयाँ समिति गठन भयो। विभिन्न निकायहरूसँग हारगुहार गरेर भवन निर्माण तथा मर्मत सम्भार गरियो।
भवन मजबुत भएपछि पुस्तकालय व्यवस्थित बनाइयो। यससँगै प्रदेशको सबैभन्दा ठूलो र व्यवस्थित सार्वजनिक पुस्तकालयका रूपमा परिचय बन्यो।
पुस्तकालयका अध्यक्ष सुरेन्द्र कामतीका अनुसार हाल यहाँ ५ हजारभन्दा बढी पुराना पुस्तक छन्।
यसो भए पनि पुस्तकालयमा पाठकको उपस्थिति उत्साहजनक भएन। पुस्तकालयमा आएर पढ्न वा किताब लैजान पाठकहरू आएनन्।
‘प्रविधिको युगमा अहिले धेरै मान्छेलाई मोबाइल (स्मार्ट फोन) बाटै पढ्ने बानी लागेको छ। नयाँ पुस्तामा पुस्तक पढ्ने बानी हराउँदै गएको जस्तो देखिन थालेको छ। व्यस्तता पनि बढेको छ,’ अध्यक्ष कामती भन्छन्, ‘अहिले पुस्तकालयमा बिहान र बेलुकी गरी दैनिक ५०–६० जना आउँछन्। आउनेहरू पनि धेरैले पत्रिकामात्रै पढ्छन्। लोकसेवा परीक्षाको तयारी गर्नेहरू पनि आउँछन्।’
लेखक तथा विश्लेषक रामरिझन यादव पुस्तकालयमा पाठक नआउनु चिन्ताको विषय हो भन्ने ठान्छन्।
‘पुस्तकालय गएर किताब पढ्नेको संख्या देशैभरि घटेको छ जस्तो लाग्छ। यो त चिन्ताको विषय हो,’ उनी भन्छन्।
पुस्तकालयप्रति आकर्षण बढाउन नयाँ योजना बनाउँदै गरेको अध्यक्ष कामतीको भनाइ छ।
उनका अनुसार विभिन्न विद्यालयका विद्यार्थीहरू बोलाएर पुस्तकालय देखाउने र छलफल गर्ने कार्यक्रम चलेको छ। यसबाट विद्यार्थीहरू निकै उत्साहित देखिएका छन्। हरेक शुक्रबार विद्यार्थीहरूसँग हाँजीरी जवाफ, वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगिता गराउने तयारी छ। लोकसेवा तयारी कक्षा सुरू गर्ने योजना पनि छ।
यस्ता कार्यक्रमले पुस्तकालयप्रति युवाहरूको रुचि बढ्ने उनको विश्वास छ। उनी प्रदेश सरकार र स्थानीय सरकारले पुस्तकालयलाई सहयोग गरून् भन्ने चाहन्छन्। प्रदेश सरकारले स्वामित्व लेओस् भन्ने चाहन्छन्।