‘नेगेटिभ क्यारेक्टर’मा जमेका अभिनयका भोका अग्रहरि
‘फिल्ममा आफू जुन भूमिकामा देखिने हो, त्यसका लागि गेटअपदेखि हाउभाउसम्म सबै रिसर्च गर्नुपर्छ । अनि मात्र त्यो भूमिकामा न्याय गर्न सकिन्छ, दर्शकले पत्याउँछन्’, अभिनेता प्रमोद अग्रहरिले कुराकानीको सुरुवात गरे ।
उनले थपे, ‘अहिलेका धेरै कलाकारमा यो समस्या छ । जसको रिजल्ट फिल्मको व्यवसायले छर्लङ्ग पारेको छ ।’ फिल्म फ्लप हुनु र दर्शकले नपत्याउनुका कारण मध्येको एक कलाकारले भूमिकाप्रति गर्ने न्याय रहेको अग्रहरिको धारणा छ ।
अग्रहरि पछिल्लो समय फिल्म ‘अदृश्य’ प्रमोसनमा व्यस्त रहँदै आएका छन् । शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आएको ‘अदृश्य’मा आफूले एक इमानदार, कर्मठ सीआईबी अफिसरको भूमिका निर्वाह गरेको बताए ।
फिल्मबाट उनले ठुलै आससमेत गरेका छन् । ‘फिल्ममा मलाई फरक फरक केही गेटअपमा देख्न सकिन्छ । फिल्मभित्रको एक घटनाको अनुसन्धानका लागि मैले केही गेटअप बनाएको छु’, उनले भने, ‘सीआईबीले घटनाको चुरोसँग पुग्न के–के गर्न सक्छ । त्यो गेटअपमार्फत् देखाउन खोजिएको छ ।’ सीआईबीको भूमिकालाई न्याय दिन आफूले २ महिना भन्दा बढी समय रिसर्चमा लगाएको उनले सुनाए ।
‘अभिनयमा गेटअप फेर्दा गाह्रो त हुन्छ, त्यही गाह्रो भएर रमाइलो लाग्छ’, उनले अगाडि भने, ‘कलाकार भएपछि जुनै भूमिका र गेटअपमा देखिन सक्नुपर्छ । गाह्रो अभिनयको जस्तो मज्जा सरलमा कहाँ हुन्छ र ?’
एउटा फिल्ममा गरेको अभिनय प्याटर्न अर्को फिल्ममा नमिल्न सक्छ । त्यहाँ अर्को तरिकाले काम गर्नुपर्छ । अर्को भाषा, सेटमा काम गर्नु च्यालेन्ज हुन्छ । त्यो च्यालेन्जमा काम गर्न आफूलाई आनन्द लाग्ने उनले बताए ।