नियमित खुल्ला त सिंहदरबारको ‘एक्सन रुम’ ?
६ असोज, २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक घण्टा बसेर विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएपछि सोही प्रयोजनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयभित्रको ‘एक्सन रुम’ खुलेन ।
प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा पाएका उपप्रधानमन्त्रीका हैसियतमा ईश्वर पोखरेलले २६ कात्तिक २०७७मा एक्सन रुमको निरीक्षण त गरे । तर, त्यसपछि उनले पनि सो रुमलाई उपयोग गर्न खासै चासो दिएनन् ।
अधिकांश समय सरकारी निवास बालुवाटारबाटै सरकार चलाएका ओलीले एक्सन रुमको उपयोग गर्ने कुनै कार्ययोजना बनाएनन् ।
ओलीपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउबाले त झन् ‘एक्सन रुम’ खोल्नै चाहेनन् । त्यसैले करिब ४ वर्षको अधिकांश समयमा एक्सन रुम ‘एक्सन’विहीन बन्यो ।
प्रधानमन्त्री कार्यालयले चासो नदिएपछि यो रुममा जाडिएको आयोजनाहरुबाट लाइभ फुटेज पनि आउन छाडिसकेका छन् । धेरै आयोजनामा जोडिएका सीसी टिभी क्यामेराहरु बिग्रँदा पनि मर्मत गरिएका छैनन् । टुटेको कनेक्सन पनि जोड्ने काम भएको छैन ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ‘एक्सन रुम’ प्रयोगमा ल्याउन चासो दिएका छन् । गत १३ असारमा उनले करिब साढे ३ वर्षपछि एक्सन रुमको प्रयोग गरेर भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन परियोजनाबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुलाई ‘एक्सन रुम’को प्रयोग गरेर ठूला आयोजनाको ‘लाइभ मनिटरिङ’ प्रभावकारी बनाउन र कम्तीमा महिनाको एकपटक आफूलाई पनि जानकारी गराउने कार्यतालिका बनाउन निर्देशन दिएका छन् ।
त्यसकै आधारमा अहिले ‘एक्सन रुम’लाई नियमित प्रयोगमा ल्याउन प्रधानमन्त्री कार्यालयले विभिन्न तयारी गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आर्थिक तथा पूर्वाधार विकास मामिला हेर्ने सचिव एकनारायण अर्यालले बताए ।
विगतमा ‘एक्सन रुम’ चलाउन इच्छा व्यक्त गर्ने तर त्यसका लागि प्रधामन्त्रीले नै समय व्यवस्थापन नगर्ने समस्या देखिएको थियो । प्रचण्ड प्रधानमन्त्री भएको ८ महिनापछि बल्ल एक्सन रुम प्रयोग गरेका थिए । फेरि योजनाअनुसार एक्सन रुम प्रयोग होला भन्नेमा अधिकारीहरु नै विश्वस्त भने छैनन् ।