दुर्लभ कीर्तिमानको सँघारमा महिला ‘सुटर’ निनो
प्रत्येक चार वर्षमा आयोजना हुन्छ, विश्व खेलकुदको महाकुम्भ ओलम्पिक । ओलम्पिक खेलकुदमा सहभागिता मात्र जनाउनु मात्र पनि हरेक खेलाडीको सपना हुन्छ । पदक नै जित्नु भनेको त झनै ठुलो उपलब्धि हुने नै भयो ।
पदकको आशा बाकेको कुनै खेलाडीले ओलम्पिकमा आफ्नो त्यो सपना पूरा गर्न सकेन भने अर्को ओलम्पिकमा सहभागिताको अवसर नै नपाउन पनि सक्छ । तर यहाँ चर्चा गर्न लागिएकी पात्रसँग भने ओलम्पिक सहभागिताको विषयलाई लिएर गहिरो सम्बन्ध गाँसिएको छ ।
उनी हुन् जर्जियाकी सुटिङ खेलाडी निनो सलुकभाद्ज । अर्को वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदमा निनोले एउटा गजबको इतिहास रच्दै छिन् । कल्पनासम्म गर्न सकिँदैन, कुनै खेलाडीले लगातार १० वटा ओलम्पिक खेल्छ भनेर ।
तर सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक जर्जियन महिला सुटर निनोका लागि विश्व खेलकुदको महाकुम्भमा लगातार १०औँ सहभागिता हुने छ अर्थात् उनले ओलम्पिक खेलकुदमा सहभागिता जनाउन थालेको पनि ३६ वर्ष पुग्ने छ ।
पेरिस ओलम्पिकपछि ५४ वर्षीया निनो सबैभन्दा बढी ओलम्पिक खेल्ने विश्वकै पहिलो महिला खेलाडी बन्ने छिन् । उनले पेरिस ओलम्पिकमा पनि आफ्नो राष्ट्रका लागि २५ मिटर पिस्तल स्पर्धामा सहभागिता जनाउने छिन् ।
यसअघि एक खेलाडीले मात्र लगातार १० पटक ओलम्पिक खेलकुदमा सहभागिता जनाएका छन् । उनी हुन् क्यानडाका इक्वेस्ट्रियन (घोडचढी) खेलाडी इयान मिल्लर । ७६ वर्षीय मिल्लरले पछिल्लो पटक सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा सहभागिता जनाएका थिए । ओलम्पिक खेलकुदमा त्यो उनको १०औँ सहभागिता थियो ।
तर हालसम्म कुनै पनि महिला खेलाडीले १० वटा ओलम्पिकमा सहभागिता जनाएका छैनन् । यतिबेला जर्जियाकी निनो त्यही कीर्तिमानको नजिक छिन् । उनले पहिलो पटक स्न १९८८ मा भएको दक्षिण कोरियाको सोल ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।
त्यसयता उनले लगातार ओलम्पिक खेल्दै आएकी छन् । पछिल्लो पटक उनले सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिक खेलेकी थिइन् । ओलम्पिकमा त्यो उनको नवौँ सहभागिता थियो । उनको सक्रिय खेलजीवनको केही रोचक पक्ष यहाँ प्रस्तुत गरिएको छ ।