‘फिल्मको हिरो, हिरोइन जे भने पनि करिश्मा दिदी र म हो’
फिल्म ‘बगान’ आगामी शुक्रबार (२९ असार) बाट रिलिज हुँदैछ । यस फिल्मकी अभिनेत्री प्रमिला कार्कीले कुराकानीको सुरुमै ‘बगान’ अभिनयको कारण खोलिन्, ‘कोही महिला दबिनु, हेपिनु हुँदैन भन्ने सोच ममा सानैदेखि थियो । त्यस्तै कथा ‘बगान’मा पाएँ । अनि अभिनयमा होमिएँ ।’
केही नाटक, दुई दर्जन हाराहारी म्युजिक भिडियोमा अभिनयको अनुभव छ प्रमिलासँग । यो उनको नेपाली रजतपटको पहिलो पाइला हो अर्थात् उनी यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
फिल्ममा उनको अलावा अभिनेत्री करिश्मा मानन्धरको पनि मुख्य भूमिका छ । करिश्माले एकल महिलाको चरित्र निभाएकी छिन् भने उनी करिश्माको छोरी प्राप्तीको भूमिकामा छिन् ।
‘फिल्मको हिरो, हिरोइन जे भने पनि करिश्मा दिदी र म हो’, कार्कीले भनिन्, ‘यो एउटा आमा–छोरीको कथामा बनेको फिल्म हो ।’ फिल्ममा एकल महिलाले पनि अन्य मानिस सरह बाँच्न पाउनुपर्छ भन्ने वकालत आफ्नो रोलले गर्ने उनले सुनाइन् ।
समाजका कुरिती, कु–संस्कारका कारण महिला हिंसा सहन बाध्य हुन्छन् । त्यो सहनु हुँदैन । सबैले समान रुपले बाँच्न पाउनुपर्छ भन्ने मेरो आवाज छ’, उनले थपिन्, ‘यो एक किसिमले भन्नुपर्दा समाज प्रतिको लडाईं र विद्रोहसमेत हो ।’
ठूलो पर्दामा डेब्यु भन्दा पनि राम्रो चरित्र र कथाका साथ फिल्ममा भित्रिएको कुरो आफ्ना लागि महत्वपुर्ण भएको उनी सुनाउँछिन् ।