१९औँ एसियाडमा नेपालका २ सय ३४ खेलाडी सहभागी हुने निश्चित
चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालबाट दुई सय ३४ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिँदै छ ।
१९औँ एसियाली खेलकुदको तयारी तथा सहभागीको विषयमा राष्ट्रिय खेल सङ्घहरूसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उक्त जानकारी दिएका हुन् ।
‘नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी गराउने छ । सकेसम्म बढी खेलाडीले एसियाडजस्तो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव सँगाल्ने अवसर पाउन भनेर निकै मेहनत गरी खेलाडी सङ्ख्या दुई सय ३४ पुर्याइएको हो,’ सदस्यसचिव घिसिङले भने ।
सदस्यसचिव घिसिङले आगामी एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि सरकारसँग आफूहरूले २४ करोड रुपैयाँ माग गरेको जानकारी पनि दिए । ‘आगामी एसियाडका लागि हामीले २४ करोड माग गरेका थियौँ । हालसम्म २१ करोड रुपैयाँको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि पनि प्रयास भइरहेको छ,’ उनले भने ।
सदस्यसचिव घिसिङले खेलाडीको प्लेइङ किट्स (आवश्यक खेल सामाग्री) का लागि सम्बन्धित संघहरुलाई आवश्यक तयारी थाल्न सुझाव दिए । ‘कुनै संघले एसियाडको तयारीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेस गर्नु होला,’ उनले भने ।
नेपाल ट्रायथलन संघका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघहरुले पनि प्रयास गर्नु पर्नेमा जोड दिए । उनले राखेप र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताए ।
कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो । उपस्थित संघका प्रतिनिधिहरुले खेलाडीको प्रशिक्षण, सुविधा, बसोवास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, बिमालगायतका विषयमा कुरा उठाएका थिए । हाङझाउ एसियाड आगामी असोज ६ गतदेखि सुरु हुँदैछ ।
सुरुआती चरणमा नेपालले आगामी एसियाडमा २३ वटा खेलमा मात्र सहभागिता जनाउने निर्णय लिएको थियो । त्यतिबेला नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र शुटिङ गरी २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो ।
त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले रग्बी, स्क्वास, टेनिस, इ—स्पोर्टस र डान्स स्पोर्टस गरी पाँचवटा खेल थप्ने निर्णय गरेको थियो । बोर्ड बैठकले २८ खेलका लागि सरकारसँग २९ करोड रुपैयाँ बजेट माग्ने निर्णय गरेको थियो । त्यसपछि राखेपले नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनको आग्रहमा अर्को एक खेल थप्ने निर्णय गरेको हो ।
आगामी एसियाडको उद्घाटन समारोहअघि हाङझाउमै हुने ‘टर्च र्याली’ मा नेपालबाट एसियाली खेलकुदमा कांस्य पदक जित्ने बक्सिङका दीपक महर्जनलाई सहभागी गराइँदै छ । टर्च र्यालीमा एसियाडमा सहभागी हुने सबै राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । दीपक महर्जन हाल हाङ्झाउ एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षकमध्येका एक हुन् ।
‘१९औँ एसियाली खेलकुद पनि चीनमा हुँदैछ । यसअघि १६औँ एसियाली खेलकुद पनि चीनमै भएको थियो । १६औँ संस्करणमा नेपाललाई एकमात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो । सोही सफलताको कदर गर्दै हाङ्झाउ एसियाडअघि हुने टर्च र्यालीमा दीपक महर्जनलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ,’ केही दिनअघि आयोजित एक कार्यक्रममा सदस्यसचिव घिसिङले भनेका थिए ।
एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा १९औँ संस्करणमा सहभागी हुने खेलाडीको सङ्ख्याले नयाँ कीर्तिमान बनाउने भएको छ । यस पटक प्रतियोगितामा कीर्तिमानी रूपमा १२ हजार पाँच सय जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा ४५ राष्ट्रका खेलाडीले भाग लिनेछन् । ओसीएमा हाल ४५ वटा राष्ट्र सदस्यका रूपमा रहेका छन् । यसअघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय जना खेलाडीले सहभागिता जनाएका थिए । १८औँ एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा इन्डोनेसियाको जाकर्ता र पालेम्बाङमा भएको थियो ।
नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको थियो । पहिलो संस्करणमा नेपालले अफिसियलसहित नौ जनालाई सहभागी गराएको थियो । पहिलो संस्करणमा नेपालले एथलेटिक्स खेलमा मात्र खेलाडी सहभागी गराएको थियो ।
त्यसयता नेपालले एसियाली खेलकुदको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा सहभागिता जनाएको ३५ वर्षपछि आएर मात्र नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको थियो ।
नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औँ संस्करणमा पहिलो पटक पदक जितेको थियो । एसियाली खेलकुदको त्यो संस्करणमा नेपालले बक्सिङ र तेक्वान्दोमा गरी कुल आठवटा कांस्य पदक हात पारेको थियो ।
त्येतिबेला तेक्वान्दोमा विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्रीले कांस्य पदक जितेका थिए । बक्सिङतर्फ भने दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जितेका थिए ।
एसियाली खेलकुदमा सहभागिताको ७२ वर्ष लामो इतिहासमा नेपाल पदक तालिकामा भने रजतभन्दा माथि उक्लन सकेको छैन । नेपालले एसियाली खेलकुदमा हालसम्म दुईवटा रजत पदक जितेको छ । एसियाली खेलकुदको इतिहासमा नेपालको सबैभन्दा ठुलो उपलब्धि त्यही दुई पदक हो ।
सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो पटक नेपालका लागि रजत पदक जितेकी थिइन् । त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेमबाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालको प्याग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए ।
समग्रमा नेपालले हालसम्म एसियाली खेलकुदमा दुई रजत र २३ कांस्य गरी २५ वटा पदक मात्र जित्न सकेको छ । नेपालले तेक्वान्दोमा एक रजत र १४ कांस्य, प्याराग्लाइडिङमा एक रजत, बक्सिङमा ६ कांस्य र कराँतेमा तीन कांस्य पदक जितेको हो ।