वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस
काठमाडौं । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको बैठकले, संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मंलबार र बुधबार बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ‘संसद बैठक आह्वानको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।’
संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो ।
यो अधिवेशनमा आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।
२०८० वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१– आगामी वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने ।
२– एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने ।
३–कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने ।
४– कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।
५–विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।