आज २५६७ औं बुद्धजयन्ती,विविध कार्यक्रम गरि मनाईंदै
काठमाडौं । आज बैशाख पूर्णिमा अर्थात् भगवान गौतम बुद्धको जीवनसंग जोडिएको महत्वपूर्ण तीन घटना ‘त्रिसंयोग’ लाई बुद्ध पूर्णिमाको रुपमा विविध कार्यक्रम गरि २५६७औं बुद्धजयन्ती नेपालमा मनाईंदै छ ।
शान्तीका अग्रदुत शाक्यमुनि गौतम बुद्धको जन्म,बुद्धत्व प्राप्त गरेको र मृत्यु भएको तीन घटनाकै संयोग पूर्णिमाको तिथिमा परेको कारण आजको दिन अर्थात् बैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाल लगायत विश्वका विभिन्न देशमा रहेका बैद्ध धर्मावलम्बीहरुले विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छन् ।
नेपालमा हरेक वर्ष वैशाख पूर्णिमाका दिन राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाइन्छ। आज संसारका बौद्धहरूले आ आफ्नै संस्कृति–परम्परा अनुरूप आस्था र श्रद्धाका साथ बुद्धको स्मरण गर्ने,ध्यान गर्ने तथा धर्मोपदेश मनन् गर्दै उत्सवका रुपमा बुद्ध पूर्णिमा मनाउँछन्।
पूर्णिमाको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई विशेष रुपमा सजाईएको छ ।
शान्ति,सत्यता,अहिंसा र सरलताको लागि बुद्ध संसारका लागि पथप्रर्दशक हुन् । विश्व शान्तिका अग्रदुत बुद्धको जन्म ईशापूर्व ५४३ मा कपिलवस्तुमा भएको हो । यद्यपी उनको जन्म मितिलाई लिएर सबैमा एकमत पाईंदैन् । त्यसैले दुई फरक समयलाई मान्दै आएको पाइन्छ ।
लुम्बिनी विकास कोषले वैशाख पूर्णिमाको पूर्व सन्ध्यामा १९ गतेदेखि नै कपिलवस्तुमा साताव्यापी कार्यक्रम गर्दै आएको छ । मुख्य गरि आज कोषले मूल समारोह कार्यक्रम गरि धुमधामका साथ बुद्ध जयन्ती मनाउन लागेको हो ।
उक्त कार्यक्रमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पर्यटन मन्त्री सुदन किराँती लगायत विभिन्न व्यक्ति लुम्बिनी जाँने कार्यक्रम रहेको छ । त्यस्तै,विभिन्न देशबाट लुम्बिनीमा आएका बौद्ध दर्शनका ज्ञाता,अनुयायी,बौद्ध धर्मका गुरु लगायतका विभिन्न व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहने छ । संसारभर दुःख छ र दुःख पछि नै सुख र शान्ती प्राप्त हुन्छ भन्ने ज्ञानका प्रर्वतक बुद्धको सम्झनामा नेपाल लगायत विभिन्न देशमा आज बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाईंदै छ ।