चर्किया सुदूरपश्चिममा बैंकको मनलाग्दी ब्याजदर वृद्धिको विरोधमा आन्दोलन
सुदूरपश्चिमका व्यापारीहरुले बैंक तथा वित्तीय संस्थाको मनलाग्दी ब्याजदर वृद्धिको विरोधमा आन्दोलन चर्काएका छन् । ऋण लिँदाको ब्याजदरलाई दोब्बर वृद्धि गरेको भन्दै केही सातादेखि सुरु भएको आन्दोलनलाई थप चर्काएका हुन् ।
आन्दोलनरत व्यापारीहरुले बिहीबार (आज) बैंकमा रकम जम्मा नगर्ने भएका छन् । उनीहरुले आज ‘नो डिपोजिट’ अभियान सञ्चालन गरिएको जनाएका हुन् । यसैबीच बुधबार व्यवसायीहरुले धनगढीस्थित राष्ट्र बैंकको प्रदेश कार्यालय घेराउसमेत गरेका थिए ।
राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन खारेज हुनुपर्ने र राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग उनीहरुले उठाएका छन् । आफ्ना मागप्रति सुनुवाइ नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।