लुम्बिनीमा ६ घण्टा बिताएर फर्किने भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय सरकार प्रमुखको हैसियतमा पाचौँपटक नेपाल आउँदै छन् ।भोलि सोमबार उनी करिब ६ घण्टाको लागि मात्र नेपाल आउन लागेका हुन् । भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन ।
बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । लुम्बिनीबाटै मोदी ६ घण्टापछि भारत फर्कने छन् ।
सोमबार बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीद्वय मोदी र देउवाको उपस्थितिमा भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक-एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा गरी ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएकाे छ ।