नेपाली अर्थतन्त्र कृषिप्रधानबाट सेवाप्रधान बन्दै
नेपाली अर्थतन्त्रको परम्परागत पहिचान हो, ‘कृषिप्रधान मुलुक’ । तर नेपालको अर्थतन्त्रलाई अब सेवा क्षेत्रले नेतृत्व गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुग्दा यसमा सेवा क्षेत्रको हिस्सा ६१.८ प्रतिशत छ । दोस्रो स्थानमा कृषि क्षेत्र छ ।
अर्थ मन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशत र उद्योग क्षेत्रको योगदान १४.३ प्रतिशत रहने अनुमान छ ।
दुई दशक अगाडि कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३७.४, १७.५ र ४५.१ प्रतिशत थियो । यस तथ्यांकलाई विश्लेषण गर्दै अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षणमा लेखेका छन्, ‘अर्थतन्त्रको संरचनामा परिवर्तन भई नेपालको अर्थतन्त्र ‘कृषिप्रधान’बाट ‘सेवाप्रधान’मा रुपान्तरण हुँदै गएको छ ।’
चालु आर्थिक वर्षमा खाद्यान्न बाली लगाएको क्षेत्रफलमा केही वृद्धि भएपनि खाद्यान्न उत्पादन र उत्पादकत्व भने घट्ने अनुमान गरिएको छ । यस आर्थिक वर्षमा ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । ती वस्तुको उत्पादकत्व समेत ३.७ प्रतिशतले घट्ने अनुमान छ । धानबाली उत्पानमा आएको ८.७ प्रतिशतको संकुचनले समग्र उत्पादनमा असर देखिएको हो । यस वर्ष नगदे बाली मह, मसला, फलफूल, तरकारी र दलहनको उत्पादन भने वृद्धि हुने अनुमान गरिएको छ ।पछिल्लो समय कृषिमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी भने क्रमशः विस्तार भइरहेको देखिएको छ । फागुन मसान्तसम्म कृषिमा २ खर्ब ९० अर्ब ७५ करोड लगानी भएको छ, जसमध्ये सबैभन्दा धेरै लगानी कषि तथा कृषिजन्य सेवामा छ ।
यो क्षेत्रमा कुल लगानीको ४३.९ प्रतिशत कर्जा प्रभाव हुँदा पशुपालन क्षेत्रमा ३६.७ प्रतिशत, खेतीपाती सम्बन्धी सेवामा १७.१ प्रतिशत लगानी भएको छ । यस्तै चिया, वन, मत्स्यपालन, र बधशालामा १.४ र १ प्रतिशतका दरले बैंक तथा वित्तिय संस्थाले लगानी गरेका छन् ।