भारतमा कोरोना सङ्क्रमण बढ्दा नेपालमा बुस्टर डोज लगाउने बढे
छिमकी मुलुक भारत र चीनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेसँगै नेपालमा बुस्टर खोप लगाउनेको सङ्ख्या बढ्न थालेको छ । नेपालमा हाल ६६.४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाए पनि करिब ३१ प्रतिशत नागरिकले खोप लगाएका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा पछिल्लो समय बुस्टर डोज लगाउने भन्दा पहिलो र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या नै न्यून छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार गएको २४ घण्टामा ७२ हजार ६८९ मात्रा खोप लगाएका छन् । जसमा ११ हजार ३९२ मात्रा कोरोनाविरुद्धको नियमित खोप लगाएका छन् भने ६१ हजार २९७ जनाले बुस्टर मात्रा लगाएका छन् । यस्तै वैशाख ५ गते १ हजार ४७६ मात्रा नियमित लगाएका छन् भने १८ हजार ४९ जनाले बुस्टर मात्रा खोप लगाएका छन् ।