स्थानीय तहमा गठबन्धनः दलीय संयन्त्र ब्युँतने जोखिम
स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा सत्तामा रहेका र प्रतिपक्षी दलहरूले आ-आफ्नो गठबन्धन गर्ने र तालमेलमा उम्मेदवारी दिने निर्णय गरिरहेका छन् । केही स्थानीय तहमा विरोध भए पनि केन्द्रीय तहबाट अर्कै निर्णय भएको छ । गठबन्धनमा नभएकाहरूले भोलि तालमेल गर्ने र अर्को गठबन्धन बनाउने सम्भावना पनि नहोला भन्न सकिन्न ।
तर स्थानीय तहको निर्वाचनमा यसरी गठबन्धन बनाउनुको औचित्य मैले देखेको छैन । संविधानले स्थानीय सरकारलाई बहुमत अल्पमतका आधारमा गठन हुने परिकल्पना गरेको छैन । स्थानीय कार्यकारिणीलाई, स्थानीय व्यवस्थापिकालाई संयुक्त सरकार हुनुपर्ने भनेको छैन ।
स्थानीय कार्यकारिणी भनेको स्थानीय सरकार हो । स्थानीय सरकार बनाउँदा गठबन्धन पनि होला, अथवा एउटै दलको बहुमतमा आउला वा सरकार चलाउन कठिनाई होला भन्ने परिकल्पना संविधानले गरेको देखिंदैन ।
स्थानीय सरकार भनेको स्थानीय विकास निर्माण गर्ने र स्थानीय रूपमा सेवा दिने एउटा राजनीतिक इकाई हो भन्ने परिकल्पना संविधानमा छ । इकाईको कार्यकारिणी प्रमुख शक्तिसम्पन्न बनाउनुपर्छ भनेर भनेको छ । कार्यकारिणीमा रहेका सबै व्यक्तिहरू प्रत्यक्ष निर्वाचित हुन्छन् ।