भन्सार शुल्क मिनाहामा नियत सफा देखिएन : श्रीवास्तव
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क मिनाहा गरिदिंदा राम्रो हुने बताएका छन् । अनावश्यक वस्तुमा मिनाहा दिंदा नियत सफा नदेखिएको उनले बताए ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘दैनिक उपभोग्य सामग्रीहरु जस्तो चामल आउँछ, गहुँ आउँछ, औषधिहरु आउँछ, शैक्षिक सामग्रीहरु आउँछ । त्यस्ता कुराहरुमा बरु मिनाह दिनु राम्रो होला । तर, अनावश्यक वस्तुमा दिँदा नियत सफा देखिएन ।’
सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्नुपर्ने र मूल्य वृद्धिको विषयमा विस्तृत छानवीन गर्नुपर्ने उनले बताए ।
खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको र बजार अनुगमन पनि फितलो भएको भन्दै उनले असन्तुष्टि जनाए ।