सामाखुसीमा पीडितसँग मेनपावर कम्पनी पुगेकामाथि कुटपिट, तीन जना घाइते
काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कुटिएका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कुटपिट गरेका हुन्।
कुटपिटबाट तीन जना घाइते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घाइतेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलिसकेको छैन। घटना भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ।
मेनपावर कम्पनीभित्र कुटपिट भएको भिडिओ समेत बाहिरिएको छ। त्यस भिडिओमा एक जना व्यक्तिको टाउको फुटेको देखिन्छ। यस्तै अर्का व्यक्तिमाथि भने लखेटेर कुटपिट गरेको देखिन्छ।
घटनाको महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको बताएको छ।