काठमाडौं र ललितपुरमा १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि फाइजर खोप
काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाइने छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु कुमार काफ्लेले स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालयहरुले खोप अभियान चलाएको बताए । खोपहरु स्थानीय तहमा पठाइसकेको जानकारी दिंदै आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उनले आह्वान गरे ।
भक्तपुर जिल्लामा भने गत शुक्रबारदेखि नै खोप अभियान सन्चालन भइरहेको छ ।