कांग्रेसलाई गिज्याइरहेको सार्वजनिक लेखा समिति
संसदीय अभ्यासमा सरकारी कोषको प्रभावकारी एवं मितव्ययीतापूर्वक खर्च भए नभएको जाँच पड्ताल गर्न सार्वजनिक लेखा समिति गर्ने परम्परा छ । संघीय संसद वेबसाइटमा पनि सार्वजनिक लेखा समितिको परिचयमा त्यही भन्दै लेखिएको छ, ‘बेलायतको स्थापित पराम्पराअनुसार सार्वजनिक लेखा समिति संसदमा विपक्षी दललाई दिने गरिएको छ ।’
तर बायाँतर्फ रहेको सभापतिको तस्वीरले भने लेखा समितिको यो परिचयलाई गिज्याइरहेको छ । लेखा समितिको सभापति भरतकुमार शाह छन्, जो २९ असारदेखि गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद हुन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. ५ बाट निर्वाचित शाह कांग्रेस विपक्षी दल भएकै कारण सर्वसम्मत लेखा समितिको सभापति बनेका थिए । तर जब प्रतिपक्षी कांग्रेस सरकारको नेतृत्वमा पुग्यो, शाहले मन्त्री बन्ने चाहे । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नबनाएपछि शाहले पनि लेखा समितिको सभापति छाड्न मानेका छैनन् ।
सरकारको नेतृत्वबाट हटेर प्रतिपक्षमा पुगेको कांग्रेस र शाहलाई लेखा समितिको सभापति छाड्न पटकपटक ध्यानाकर्षण गराएको छ । आइतबार जारी गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको वक्तव्यमा भनिएको छ, ‘…सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्ने हाम्रो आफ्नै संसदीय अभ्यासलाई उपेक्षा गरिएको छ ।’
तर न शाहले राजीनामा दिएका छन्, न सरकारको नेतृत्व गरेको कांग्रेसले शाहलाई राजीनामा गराएको छ । शाह लेखा समितिले सरकारको छायाँ समिति बनाएर बसेका छन् भने प्रधानमन्त्री एवं कांग्रेस सभापतिले त्यसमै सहज मानेका छन् ।