चोलेन्द्र शमशेर राणाले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्।
आइतबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्यायापालिकाको संरक्षण गर्न भनेर नियुक्त भएका चोलेन्द्र शमशेरले अहिले विचौलिया विकृति र विसंगतिको संरक्षण गरेको भन्दै उनले तोकेको पेशीको इजलासमा नबस्न आग्रह गरेका हुन्।
‘न्यायाधीशलाई हाम्रो आग्रह छ, भ्रष्ट्र चोलेन्द्रले तोकेका पेशीको इजसालसमा नबस्नू होला’, श्रेष्ठले भने। उनले बिचौलियाका नाइके प्रधानन्यायाधीश जबराले गरेका काम अब बार एसोसिएसनले नमान्ने बताएका हुन् ।
'बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाइसकेको छ । यस्ता प्रधानन्यायाधीशले गरेका कुनै पनि काम अब हामीलाई मान्य हुँदैन।'
प्रधानन्यायाधीश जबरालाई भ्रष्ट र बिचौलियाको नाइकेको आरोप लगाउँदै उनले संविधान अनुसार प्रधानन्यायाधीश भए पनि व्यवहारिक र आस्थाका आधारमा उनी प्रधानन्यायाधीश नभएको बताए ।
यस्तै वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा गुन्डाको नाइके भएको बताएका छन्। ‘प्रधानन्यायाधीश राणा गुन्डा र मण्डलेका नाईके रहेछन्। अब राजीनामाबाहेक अन्य छोड्ने छैनौं,’ उनले भने।
उनले विचौलियाका नाईकेले अब अदालत चलाउन नसक्ने बताए।