काठमाडौंको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा प्रकाशमान : गगन हावी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्ष कमजोर देखिएको छ ।
काठमाडौंमा २० प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये शुक्रबार १७ वटामा प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको हो । काठमाडौं निर्वाचन क्षेत्र–१ अन्तर्गत दुबै प्रदेशसभाको अधिवेशन शनिबार हुँदैछ ।
मतपरिणाम सार्वजनिक भएका प्रदेशसभा निर्वाचन क्षेत्रमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको गठबन्धनका उम्मेदवार १३ ठाउँमा विजयी भएका छन् । संस्थापन समूहनिकट चार जनाले मात्रै प्रदेश कार्यसमितिको सभापति पदमा निर्वाचित भएका छन् ।
संस्थापन पक्ष बलियो भनिएको निर्वाचन क्षेत्र–२ का दुबै प्रदेशसभामा प्रकाशमान–गगन समूह विजयी भएको छ । प्रदेश सभा (क) को सभापतिमा ध्रुव केसी र (ख) मा उद्धव खड्का निर्वाचित भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र–३ को (क) मा श्रीराम चालिसे सभापति चयन भएका छन् भने (ख) मा विमल ठकुरी निर्वाचित भएका छन् । ठकुरी संस्थापन समूह निकट हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र–४ को (क) मा विमल हाडा निर्वाचित भएका छन् भने (ख) मा रामप्रसाद लुईटेल सर्वसम्मत कार्यसमिति सभापति चयन छन् । काठमाडौं – कांग्रेस नेता थापाको निर्वाचन क्षेत्र हो ।