आजबाट मौसममा सुधार हुन्छ, धेरै ठाउँमा घाम लाग्छ : मौसमविद्
आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् ।
‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’
पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभाव भएको उनले बताए । अहिले एक-दुई ठाउँमा सामान्य वर्षा भइरहे पनि त्यो वर्षा स्थानीयस्तरमा मात्रै भएको उनको भनाइ छ ।
नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । पानी पार्ने सो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारत बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा कायमै छ । सोही प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली छ । साथै प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वषर्ा भइरहेको छ । काठमाडौं उपत्यकामा भने बिहानपख पारिलो घाम लागेको छ ।
महाशाखाले २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको छ ।