योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ
सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनकै साथी वीरगञ्ज–७ रामटोल बस्ने राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीपलामा तामाङ र बारा फेटा गाउँपालिका ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई पक्राउ गरेको हो । अभियुक्तहरुले लुटपाटपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले ज्ञानुसँग भएको नगद र सुनका गहना लुटेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल बताउँछन् ।
‘फरार अभियुक्त रवी पहिले पनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । उनीहरुले योजनाबद्ध ढंगले कुहिनाले घाँटीमा लक लगाएर ज्ञानुको हत्या गरेको पाइएको छ,’ उनले भने, ‘ज्ञानुसँग धेरै पैसा छ भन्ने भ्रममा उनीहरु रहेछन्, तर सुनको सिक्री, नगद गरेर २ लाख बराबरको मात्रै समान फेला पारेको देखिन्छ ।’