हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या
हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा गरिएको आक्रमणमा ज्यान गएको देशका अन्तरिम प्रधानमन्त्रीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ।
पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन्।
आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ। आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।